खेलकुद देशका लागि हो, राष्ट्रका लागि हो, प्रदेश र जिल्लाको पहिचानका लागि हो भन्ने विषयलाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा सुरु हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने बारेमा सम्बन्धित सबै निकायहरूले बेलैमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हुने खेलकुद प्रतियोगिताको विषयमा विभिन्न चर्चा र परिचर्चाहरू भइरहेका बेला सचिवालय गठन भएपछि खेल तोकिएको समयमा हुन्छ कि भन्ने आशा पलाएको छ ।
युवा तथा खेलकुद मन्त्री, कर्णाली प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीले संयुक्त रूपमा मूल आयोजक समिति सचिवालय गठन गरेको विषयसँगै सुर्खेतमा मिति तय गरिएको समय भनेको निकै धेरै गर्मी हुने समय भएकाले यसको व्यवस्थापन कसरी हुन्छ भन्ने चुनौती पनि उत्तिकै देखिएको छ । जेठको ३ गतेदेखि १० गतेसम्म गरिने भनिएको प्रतियोगिता गर्मीका कारण प्रभावित हुनसक्ने विषय पनि सतहमै आइरहेका बेलामा सचिवालय उद्घाटन भएपछि अब बाँकी कामहरूको गति बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
रङ्गशाला निर्माणकै क्रममा कसको पालामा सुरु भयो, कसको पालामा सम्पन्न भयो भन्ने होडबाजीले समेत कर्णाली प्रदेश सरकारभित्र पनि कता कता असन्तुष्टिका स्वरहरू सुनिएका थिए । अब तोकिएको मितिमा खेल सम्पन्न गर्नका लागि सचिवालय नै तोकिसकेपछि यहाँका सबै राजनीतिक दलहरू, कर्णाली प्रदेश सरकारले अब हुने भनिएको खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा कसरी सम्पन्न गर्ने र समग्र कर्णाली प्रदेशले खेल जगतमा दरिलो उपस्थिति कसरी जनाउने भन्नेतर्फ सोच्नुपर्दछ ।
कर्णाली प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको रङ्गशाला निर्माणका कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेका छन् । रंगशालाबाहेक अन्य सम्पन्न गर्नुपर्ने पूर्वाधारका कामहरू कसरी व्यवस्थापन गर्ने ? खेलाडीहरू र खेल हेर्न आएका दर्शकहरूका लागि आवश्यक पर्ने होटेल बासलगायतका विषयहरूलाई कसरी व्यवस्थापन गर्ने ? यस्ता विषयमा पनि सम्बन्धित निकायहरूले बृहत् छलफल गरेर खेल हेर्न आएका पाहुनाहरूलाई कति छुट सुविधा निर्धारण गर्न सकिन्छ भन्नेतर्फ पनि लेखाजोखा गर्नु आवश्यक देखिन्छ । कर्णाली प्रदेशमा आएका देश विदेशका पाहुनाहरूका लागि कर्णालीका अन्य हेर्न सकिने स्थानहरू, पर्यटकीय क्षेत्रहरू, कला संस्कृतिका विषयहरूमा पनि छुट्टै प्याकेज निर्माण गरेर यसलाई अवसरका रूपमा लिनुपर्ने विषयमा पनि प्रदेश सरकारलगायत पालिकाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय सरकारहरूले खेल क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने अन्य विषयहरूका बारेमा पनि समयमै सोच विचार गरेर कर्णाली प्रदेशको राम्रो पहिचान दिन सक्ने गरी काम गर्नुपर्दछ । दसौँ राष्ट्रिय खेलकुद केवल खेलजगतका लागि मात्र होइन, यो त कर्णालीलाई देश विदेशमा चिनाउने एउटा अवसर पनि हो । यो अवसरलाई कर्णाली प्रदेशले कुनै पनि तरिकाबाट सदुपयोग गर्नुपर्ने देखिन्छ । या त त्यो खेलकुदका सन्दर्भमा होस्, या त होटल व्यवसाय कै क्षेत्रमा किन नहोस् । या त त्यो पर्यटन प्रवद्र्धन गर्ने सन्दर्भमा होस् या त अन्य कुनै पनि व्यवसायका क्षेत्रमा किन नहोस् । दसौँ राष्ट्रिय खेलकुदलाई केवल कर्णाली प्रदेश सरकारले मात्र नभएर कर्णालीबासी सबैजनाले उत्सव र अवसरका रुपमा लिनुपर्ने देखिन्छ ।





